एसियाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो आकारको प्रतियोगिता शनिबारदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुँदै छ ।चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन् । चिनियाँ मिडियाका अनुसार सीले प्रतियोगिताको सफल आयोजनाका लागि व्यक्तिगत रुचि देखाउँदै लगातार निर्देशन पनि दिइरहेका छन् । अन्य धेरै राष्ट्राध्यक्ष र सरकार प्रमुखसँगै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि उद्घाटन समारोहमा सहभागी हुनेछन् ।
प्रतियोगिताकै लागि भनेर पूरा हाङचउ सहर सिंगारिएको छ र यसक्रममा चीनले बाँकी विश्वलाई भन्न चाहेको छ, ‘मुटुदेखि मुटुसम्म भविष्य’ का लागि । यसपल्ट प्रतियोगितामा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीको सहभागिता रहनेछ, यो एसियाली खेलकुदमा अहिलेसम्मको कुनै पनि सहभागिताभन्दा बढी हो । चीनमा आयोजना हुन लागेको यो तेस्रो एसियाली खेलकुद हो । यसअघि बेइजिङ र ग्वाङचउमा यो बृहत् खेलकुदको आयोजना भएको छ ।
सन् १९५१ मा भारतको नयाँदिल्लीमा आयोजित पहिलो संस्करणबाट सुरु भएको प्रतियोगिताको यसपल्टको संस्करण यस क्षेत्रको जनसंख्या, अर्थतन्त्रको आकार र भौगोलिक कारणले पनि बृहत् मानिएको हो । खासमा यो प्रतियोगिता पछिल्लो सेप्टेम्बरमै हुनुपर्ने थियो । चीनको कोभिड प्रकोपप्रति शून्य सहनशीलताका कारण प्रतियोगिता एक वर्ष पछाडि सरेको हो । चिनियाँ सरकारले त्यही महामारीका कारण लगाइरहेको सबै प्रकारको प्रतिबन्ध भने हटाइसकेको छ ।
प्रतियोगितामा ४० खेल समावेश गरिएका छन् र त्यसमा ४ सय ८१ स्पर्धा समावेश छन् । हाङचउले प्रतियोगिताका लागि भनेर ५४ खेल स्थलमा प्रयोगमा ल्याउनेछ, त्यसमध्ये १४ केन्द्र नयाँ निर्मित गरिएका हुन् । उद्घाटन स्थलको नाम ‘बिग लोट्स’ पनि छ र यहीं समापन समारोह पनि आयोजना हुनेछ । प्रतियोगिताकै लागि भनेर १० हजार क्षमताको भव्य तथा सानदार एसियाली भिलेजको पनि निर्माण गरिएको छ ।
नेपालबाट निमा र वीरबहादुरले अगुवाइ गर्ने
नेपाल ओलम्पिक कमिटीका अनुसार महिलामा उसुकी निमा घर्तीमगर र पुरुषमा तेक्वान्दोका वीरबहादुर महराले यो ऐतिहासिक अवसर पाउन लागेका छन् ।उद्घाटन समारोहमा सुरुमै गरिने मार्चपासमा एक–एक महिला र पुरुष खेलाडीले नेपालको झन्डा बोक्दै अगुवाइ गर्ने भएका छन् । निमा पछिल्लो दुई संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता हुन् । यस्तै वीरबहादुरले पछिल्लो सागमा स्वर्ण जितेका थिए । उद्घाटन समारोह दुई घण्टाका हुनेछ । त्यसको सुरुमा प्रतियोगितामा सहभागी ४५ देशका खेलाडी तथा पदाधिकारीले मार्चपास गर्नेछन् ।यसका लागि ४० मिनेट छुट्याइएको छ । त्यसपछि केही औपचारिक कार्यक्रम हुनेछन् र अन्त्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । नेपालले कुल २९ खेलमा सहभागिता जनाउँदै छ । सहभागी हुने खेलाडीको संख्या भने २ सय ५३ रहेको छ । नेपाली टिमका सेफ द मिसन तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले चीनमा हुन लागेको प्रतियोगितामा असल छिमेकीको नाताले यत्तिको सहभागिता स्वाभाविक र सकारात्मक रहेको बताएका छन् ।
यस्तै नेपाल ओलम्पिक कमिटीमा उपाध्यक्ष र कार्यकारी निर्देशकसँगै नेपाली टिमको डेपुटी सेफ मिसन रहेका चतुरान्दराज वैद्यले प्रतियोगितामा नेपालको प्रदर्शन राम्रो रहने विश्वास पोखे । उद्घाटन समारोह अगाडि नै केही खेलका स्पर्धा भने सुरु भइसकेका छन् । त्यसमध्ये नेपालले पुरुष भलिबल, टेबल टेनिस र महिला फुटबलमा आफ्नो चुनौती पेस गरिरहेको छ । शुक्रबारसम्म नेपाली टिममा आधाभन्दा बढी खेलाडी, प्रशिक्षक र पदाधिकारी हाङचउ आइपुगेका छन् ।