२३ भाद्र २०८१, आईतवार

नयाँ सत्ता समीकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास

फाेर्स दैनिक

नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बन्ने भएसँगै निजी क्षेत्र उत्साहित देखिएको छ । मुलुकका दुई ठुला राजनीतिक दलबिच भएको सत्ता समीकरणसँगै सङ्कुचनमा पुगेको अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्मविश्वास बढ्ने प्रतिक्रिया दिएका छन् ।

नयाँ सत्ता समीकरण बनेसँगै अर्थतन्त्रमा सुधार ल्याउने र व्यवसायीहरूलाई लगानीको वातावरण बन्नेमा निजी क्षेत्र आशावादी देखिएको छ । दुई ठुला राजनीतिक दलहरूबिचको सत्ता सहकार्यका लागि भएका संविधान संशोधन, निर्वाचन प्रणाली र प्रदेश संरचना हेरफेर लगायतका विषयहरूले थप आशावादी र उत्साहित बनाएको धारणा व्यक्त गरेका छन् । उद्योगी व्यवसायीहरूले पुराना ठुला राजनीतिक शक्ति एक ठाउँमा आएर स्थिर सरकार बन्नु निजी क्षेत्रको लागि सुखद पक्ष भएको भन्दै राजनीतिक स्थिरतासँगै आर्थिक र नीतिगत स्थायित्वमा जोड दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । देशको अर्थतन्त्रलाई ठोस कार्यदिशा र सबल अर्थतन्त्र बनाउन दुई राजनीतिक दलको सत्ता समीकरण उचित देखिएको निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले उल्लेख गरेका छन् ।

सत्ता समीकरण प्रशासनिक खर्च कम गर्न प्रशासनिक पुनरावलोकनका लागि संविधान संशोधन गर्ने, आर्थिक विकास गर्ने लगायतका सहमति निजी क्षेत्रको लागि स्वागतयोग्य
अर्थतन्त्र सुस्ताएर घरजग्गा कारोबार खुम्चिएको, उद्योग व्यवसाय ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएको, उद्योगी व्यवसायीहरूले बैङ्कको ब्याजदर तिर्न नसकेको र पुँजी बजार माथि उठ्न नसकेको अवस्थामा नयाँ समीकरणले यी समस्या समाधान गर्नेमा आशावादी बनाएको उहाँहरूको भनाई छ । व्यवसायीहरूले ६–६ महिनामा सरकार परिवर्तन हुनु अस्थिरता भए पनि अब बन्ने सत्ता समीकरणले राजनीतिक स्थायित्व र स्थिर सरकार दिनेमा निजी क्षेत्रलाई आशावादी बनाएको प्रतिक्रिया दिएका छन् ।

उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणाले दुई ठुला दल मिल्नु राजनीतिक स्थिरता र आर्थिक स्थायित्व हुने अपेक्षा गरेको बताउनु भयो । उहाँले राजनीतिसँगै आर्थिक स्थायित्वका लागि दुई ठुला राजनीतिक दलको सत्ता समीकरण उपयुक्त भएको धारणा राख्नुभयो । उहाँले नयाँ सत्ता समीकरण प्रशासनिक खर्च कम गर्न प्रशासनिक पुनरावलोकनका लागि संविधान संशोधन गर्ने, आर्थिक विकास गर्ने लगायतका सहमति निजी क्षेत्रको लागि स्वागतयोग्य रहेको उल्लेख गर्नुभयो । पूर्व अध्यक्ष राणाले देशको आर्थिक उन्नतिका लागि सबै राजनीतिक दलहरू मिल्नुको विकल्प नभएको भन्दै निजी क्षेत्रलाई सबल बनाए मात्र देशको अर्थतन्त्रको सबलीकरण हुन सक्ने उल्लेख गर्नुभयो ।

पूर्व अध्यक्ष राणाले केही वर्षदेखि धराशायी भएको मुलुकको अर्थतन्त्र राजनीतिक स्थिरता भए मात्रै लयमा आउने बताउनु भयो । उहाँले ३० देखि ४० प्रतिशत क्षमतामा उद्योगहरू सञ्चालनमा भएको अवस्थामा नयाँ सत्ता समीकरणसँगै चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुख्य भन्सारहरूमा नै राजश्व सङ्कलन कम हुँदै मुलुकको अर्थतन्त्र आेरालो लागेको अवस्थामा राजनीतिक दलहरूले ठिक समयमा समीक्षा गरेर गरेको गठबन्धन स्वागतयोग्य भएको उल्लेख गर्नुभयो । उहाँले सत्ता समीकरण परिवर्तन भएको चार महिनामा दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार चलाउने र अर्थतन्त्रको विकास गर्ने सहमति सकारात्मक रहेको बताउनु भयो । पूर्व अध्यक्ष राणाले ठुला दल मिलेर सरकार बनेको सरकार स्थिर हुन आवश्यक रहेको बताउनु भयो ।

कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण निजी क्षेत्रसँगको सहकार्यमा नयाँ सरकारले गर्ने आशावादी
पूर्व अध्यक्ष राणाले नयाँ बन्ने सरकार पनि तीन÷चार महिनामा परिवर्तन हेर्नु परिस्थिति आए फेरि अर्थतन्त्र सङ्कटमा जान सक्ने बताउनु भयो । उहाँले दुई ठुला राजनीतिक दलको सत्ता समीकरणले अर्थतन्त्र सबल बनाउनको लागि नयाँ सोच बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रले लिएका सुझावलाई आत्मसाथ गरेर सरकार अघि बढ्दा व्यापार व्यवसाय र उत्पादन वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । पूर्व अध्यक्ष राणाले सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठुला अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालन गर्ने, कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरी निजी क्षेत्रसँगको सहकार्य गर्ने विश्वास रहेको धारणा राख्नुभयो ।

उहाँले दुई ठुला राजनीतिक दलको सत्ता समीकरणले नयाँ परिवर्तन भएको जस्तो आभास निजी क्षेत्रलाई भएको बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्रलाई प्राथमिकता दिनेमा पनि आशावादी रहेको बताउनु भयो । उहाँले वर्तमान सरकारले ल्याएको बजेटले सङ्कुचनमा रहेको अर्थतन्त्रलाई माथि उठाउन नसक्ने भन्दै अब आउने सरकारले परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नयाँ सरकारले निजी क्षेत्रमैत्री व्यवहार गर्ने अपेक्षा पनि जगाएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘मुलुकमा राजनीतिक स्थिरता भए मात्रै अर्थतन्त्रको विकास हुने हो । केही वर्षदेखि मुलुकको अर्थतन्त्र धराशायी भएको कुरा सबैलाई जानकारी नै छ । उद्योगहरू क्षमता भन्दा पनि कम ३० देखि ४० प्रतिशतमा चलिरहेका छन् । विगतको भन्दा मुलुकका मुख्य भन्सारहरूमा नै राजश्व सङ्कलन कम हुँदै गएको छ । त्यस कारणले मुलुकको अर्थतन्त्र ओरालो लागेको अवस्थामा राजनीतिक दलहरूले समीक्षा गर्नुपर्ने बेला भएको थियो । अहिले ठिक समयमा गरे भन्नुपर्छ । सत्ता समीकरण परिवर्तन भएको चार महिनामा दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार चलाउने र अर्थतन्त्रको विकास गर्ने कुरा आएको छ ।

अर्को कुरा संविधान संशोधन गर्ने कुरा आएको छ । अहिलेको सत्ता समीकरणले गर्ने भनेको संविधान संशोधन राम्रो पक्ष हो । संविधानलाई संशोधन गर्नुपर्ने समय आएको थियो । मुलुकको प्रशासनिक खर्चको कारणले पनि मुलुकको अर्थतन्त्र ओरालो लाग्न थालेको थियो । त्यस्तो अवस्थामा स्थानीय तह कम गर्ने र प्रशासनिक खर्च कम गर्ने कुरा सकारात्मक छ । प्रदेशको विषयमा पनि विचार गर्नुपर्छ । प्रशासनिक खर्च अर्थात् कर्मचारीहरूलाई तलब भत्ता पनि ऋण लिएर दिनुपर्ने अवस्था छ ।

संविधान संशोधन गर्दा साना राजनीतिक दलहरूलाई पनि समेटेर जानुपर्छ । दुई दलबिच मिलेर बनेको सरकारले बिग्रिएको अर्थतन्त्रलाई कसरी जोगाउने र हरेक उद्योगी व्यवसायीहरू उदास भएको अवस्था छ । युवाहरू बाहिरी रहेको अवस्था छ । अर्थतन्त्र सङ्कुचन भई डिमान्ड र सप्लाई सन्तुलन नभएर अर्थतन्त्र नाजुक अवस्था छ । ठुला दल मिलेर सरकार बनेको सरकार स्थिर हुनुपर्छ । यो सरकार तीन चार महिनामा परिवर्तन हेर्नु परिस्थिति हुँदा अर्थतन्त्र सङ्कटमा जान सक्छ । दुई ठुला राजनीतिक दलको सत्ता समीकरणले अर्थतन्त्र सबल बनाउनको लागि नयाँ सोच बनाएर लैजानुपर्छ ।

त्यसको लागि निजी क्षेत्रलाई सँगै लैजानुपर्छ । निजी क्षेत्रले लिएका सुझावलाई आत्मसाथ गरेर सरकार अघि बढ्यो भने उद्योग व्यवसाय,उत्पादन वृद्धि हुने देखिन्छ । प्रजातन्त्र आउँदा मुलुकको अर्थतन्त्रमा ठुलो परिवर्तन भएको थियो । पर्यटन क्षेत्रमा पनि विगतको तुलनामा ठुलो परिवर्तन आउन सकेको छैन । ठुला अन्तर्राष्ट्रिय विमानस्थलहरू बनेका छन् तर सञ्चालन गर्न सकिएको छैन । त्यसलाई सोच्नुपर्ने र कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण निजी क्षेत्रसँगको सहकार्यमा नयाँ सरकारले गर्ने आशावादी भएका छौँ । दुई ठुला राजनीतिक दलको सत्ता समीकरणले नयाँ परिवर्तन भएको जस्तो लागेको छ । अर्थतन्त्रलाई प्राथमिकता दिनेमा पनि आशावादी छौँ । संविधान संशोधनमा पनि अर्थतन्त्रलाई चलायमान बनाउने विषयलाई समावेश गराएर जानुपर्छ । वर्तमान सरकारले ल्याएको बजेटले सङ्कुचनमा रहेको अर्थतन्त्रलाई माथि उठाउन सक्दैन । अब आउने सरकारले परिमार्जन गर्नुपर्छ ।’

नेपाल चेम्बर अफ कमर्सका निः वर्तमान अध्यक्ष राजेन्द्र मल्लले आर्थिक एजेन्डामा नयाँ गठबन्धनले समान धारणा बनाएर काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले दुई ठुला राजनीतिक दलहरूबिच सत्ता समीकरण गरेर स्थिर सरकार बनाउनुले निजी क्षेत्र खुसी रहेको प्रतिक्रिया दिनुभयो । उहाँले दुई ठुला राजनीतिक दलको सत्ता समीकरणको लागि संविधान संशोधन गर्ने र आर्थिक स्थायित्व दिने सहमतिले अर्थतन्त्रमा सुधार आउने निजी क्षेत्र आशावादी भएको बताउनु भयो । उहाँले अर्थतन्त्र अस्तव्यस्त भएको अवस्थामा स्थिर सरकार बनाउने गरी भएको सत्ता समीकरणलाई निजी क्षेत्रले स्वागत गरेको उल्लेख गर्नुभयो । राजनीतिक स्थायित्वसँगै अब बन्ने सरकारले आर्थिक स्थायित्वलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । मल्लले अहिले देशका दुई ठुला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमाले सत्ता समिकरण गरेर जाने र साना दललाई पनि समेटेर संविधान संशोधन गरी अर्थतन्त्रलाई सबल बाटोमा लैजानुपर्ने बताउनु भयो ।

निः वर्तमान अध्यक्ष मल्लले नयाँ सत्ता समीकरणको सरकारले मुलुकको अर्थतन्त्रलाई सबल बनाउने विश्वास रहेको भन्दै सधैँ राजनीतिक खिचातानी भन्दा पनि आर्थिक स्थायित्वको बाटोमा लैजान जरुरी भएको बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रमा आएको सुस्तता अस्थिर राजनीति र अस्थिर सकारको कारण भएको भन्दै दक्षिण एसियामा सबै भन्दा कमजोर आर्थिक अवस्था भएको मुलुक बनेको बताउनु भयो । उहाँले मुलुकमा राजनीतिक स्थायित्व हुन नसक्दा आर्थिक स्थिति अस्तव्यस्त भएको बताउनु भयो। उहाँले राजनीतिक स्थायित्वको लागि दुई पार्टीले अन्य पार्टीहरूलाई पनि समेटेर मुलुकको अर्थतन्त्र सबल बनाउने गरी काम गर्ने निजी क्षेत्रलाई आशा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले देशका दुई ठुला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमाले सत्ता समिकरण गरेर जाने र साना दललाई पनि समेटेर संविधान संशोधन गरी अर्थतन्त्रलाई सबल बाटोमा लैजाने कुराहरू आएको छ । त्यसले निजी क्षेत्र आशामा छ । अब बन्ने सत्ता समीकरणको सरकारले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनुपर्छ । सधैँ राजनीतिक खिचातानी भन्दा पनि आर्थिक स्थायित्वको बाटोमा लैजानुपर्छ । अहिले जुन किसिमको प्रतिबद्धता आएको छ । दुवै दललाई अर्थतन्त्रको विषयमा विज्ञता छ । आर्थिक रूपमा मुलुकलाई सधैँ सुस्त गतिमा डोर्याएर हुँदैन । हामीले छिमेकी देश हेरौँ भने धेरै फड्को मारिसकेका छौँ । दक्षिण एसियामा पनि विगतमा हामी धेरै बलियो थियौँ । अहिले सबैभन्दा कमजोर भयौँ । यसको मुख्य कारण राजनीतिक अस्थिरता हो । राजनीतिक स्थिरता नभए पनि सम्पूर्ण दलहरूले आफ्नो लोकतान्त्रिक अभ्यासबाट सत्तामा जाने फरक धारणा भए पनि राजनीतिक एजेन्डामा सम्पूर्ण राजनीतिक दलहरू आर्थिक स्थायित्वको लागि आर्थिक नीतिमा एउटै धारणा बनाउनुपर्छ ।

सत्ता समीकरणले मुलुकमा भएको खर्चको लागत कम गर्न स्थानीय तहहरु घटाउने,संसदहरुको सख्या कम गर्ने,समानुपातिकलाई राष्ट्रिय सभामा लैजाने कुराहरू बाहिर आएको छ । त्यसले डुइङ बिजनेस लागत घट्छ । राजनीतिक स्थायित्व हुन नसक्दा आर्थिक स्थिति डलमलिन गयो । त्यसैले राजनीतिक स्थायित्वको लागि दुई पार्टीले अन्य पार्टीहरूलाई पनि समेटेर मुलुकको अर्थतन्त्र सबल बनाउने गरी काम गर्नु जरुरी छ । त्यो हुन्छ भन्ने आशा छ ।’

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले नयाँ सत्ता समीकरणसँगै पुँजी बजारमा सुधार हुने अपेक्षा गरेको बताउनु भयो । उहाँले अस्थिर रहेको सरकारलाई स्थिरता दिने गरी भएको दुई ठुला राजनीतिक दलको समीकरण लगानीकर्ताको लागि सुखद पक्ष भएको बताउनु भयो । उहाँले राजनीतिक अनिश्चितताका कारण पूँजीबजारले गुमाएको आत्मविश्वास लयमा आउने विश्वास रहेको बताउनु भयो ।

अध्यक्ष ढकालले मुलुकले नेकपा एमाले र नेपाली काङ्ग्रेसबिच बनेको नयाँ सत्ता समीकरण मुलुकको आवश्यकता भएको दाबी गर्नुभयो । उहाँले नयाँ समीकरणले उद्योगी व्यवसायी,लगानीकर्ता र समग्र निजी क्षेत्रलाई उत्साह जगाएको उल्लेख गर्नुभयो । उहाँले स्थिर सरकार बनाउँदै आर्थिक नीतिहरू स्थिर बनाउँदै निजी क्षेत्रमैत्री सरकार बन्नुपर्ने बताउनु भयो । अध्यक्ष ढकालले स्थिर सरकार भएसँगै निजी क्षेत्र उत्साहित भएर लगानीको वातावरण बन्ने आशावादी भएको बताउनु भयो । उहाँले उद्योग व्यवसाय,घरजग्गा कारोबार सुस्त भएको कारण बैङ्कको ब्याजदर व्यवसायीहरूले तिर्न नसकेको अवस्थामा त्यस्ता समस्या साधनाको लागि सरकारले निजी क्षेत्रसँग समन्वय गरेर समस्या समाधान हुनेमा आशा पलाएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेकपा एमाले र नेपाली काङ्ग्रेसबिच नयाँ सत्ता समीकरण बनेको छ । यो समीकरण देशले खाेजेको थियो । यो समीकरणले उद्योगी व्यवसायी,लगानीकर्ता र समग्र निजी क्षेत्रलाई उत्साह जगाएको छ । मुलुकले स्थिर सरकार खाेजेको छ । स्थिर सरकार हुँदा नीतिहरू स्थिर हुने र निजी क्षेत्रको लागि राम्रो हुनेछ । स्थिर सरकार भएसँगै निजी क्षेत्र उत्साहित हुन्छ । लगानीको वातावरण बन्छ । स्थिर सरकारले बनाएको नीति कम्तीमा तीन वर्षसम्ममा अर्थतन्त्रका सुधार हुन्छ । उद्योग व्यवसाय,घरजग्गा कारोबार सुस्त भएको कारण बैङ्कको ब्याजदर व्यवसायीहरूले तिर्न नसकेको अवस्था छ । त्यस्ता समस्या साधनाको लागि सरकारले निजी क्षेत्रसँग समन्वय गरेर समस्या समाधान गर्छ भन्ने आशा पलाएको छ ।’

गत सोमवार नेकपा एमाले र नेपाली काङ्ग्रेसबिच नयाँ समीकरण बनाएर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो । उक्त सहमतिसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई एमालेले दिएको समर्थन र मन्त्रीहरूसमेत फिर्ता गरेको छ । योसँगै दुई ठुला दलको नयाँ सत्ता समीकरणले अर्थतन्त्रमा पनि विशेष प्रभाव पारेको छ । त्यसैले नयाँ सत्ता समीकरणले वर्तमान आर्थिक,सामाजिक समस्यालाई समाधान गर्दै मुलुकलाई आर्थिक र राजनीतिक स्थायित्व दिन जरुरी छ ।

२२ असार २०८१, शुक्रबार १०:४६ मा प्रकाशित
Nabintech