३ आश्विन २०८१, बिहीबार

राजीनामा दिने ‘मुड’मा प्रधानमन्त्री प्रचण्ड

फाेर्स दैनिक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजीनामा दिने ‘मुड’मा पुगेका छन्।आफूलाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेल्ने नेकपा एमालेले नै सरकारको समर्थन फिर्ता लिएर मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि अब विश्वासको मतका लागि कुर्ने कि राजीनामा दिनेबारेमा उनी आफू निकटस्थ नेता र कानूनविद्सँग परामर्शमा रहेको स्रोतको दाबी छ। प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेरै राजीनामा दिने तयारी गरे पनि प्रतिनिधि सभाको बैठक आइतबार मात्रै बोलाइएको छ।

यद्यपि माओवादीको पदाधिकारी बैठकले भने प्रधानमन्त्रीले राजीनामा नदिने, बरु विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ। तर, एमालेले राजीनामा दिइसकेको र रास्वपाले पनि सरकार छाड्ने तयारी गरिरहेको अवस्थामा अब मार्गप्रशस्त गर्ने मुडमा प्रधानमन्त्री पुगेको जनाइएको छ। हिजो दिनभर आफू निकटस्थसँग छलफल गरेका प्रचण्डले आज पनि छलफल गर्ने र निर्णय लिने स्रोतको दाबी छ। तर, माओवादीका सचिव देवेन्द्र पौडेलले भने प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्। प्रधानमन्त्रीले विश्वासको मत ‘फेस’ गरेरै सरकार छाड्ने सचिव पौडेलको दाबी छ।

नयाँ सत्ता समीकरणमा सहमति गरेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले भने मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। आजसम्म राजीनामा नदिए कांग्रेस एमालेले पनि प्रधानमन्त्री चयनमा नयाँ रणनीति लिने जनाइएको छ। संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकारका लागि दाबी पेस गर्नसक्ने उनीहरुको तयारी छ।

तर, प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएमा वा प्रतिनिधिसभामा विश्वासको मत नपाएर पदमुक्त भएमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।नेपालको संविधानको धारा १०० को उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ। राजीनामा नदिएमा विश्वासको मत लिने अधिकतम अवधिसम्म प्रधानमन्त्रीलाई सरकारमा रहने संवैधानिक आधार छ।

२२ असार २०८१, शुक्रबार १०:५२ मा प्रकाशित
Nabintech