२३ भाद्र २०८१, आईतवार

लक्ष्यभन्दा धेरै मुद्दा फस्र्योट

फाेर्स दैनिक

चितवन जिल्ला अदालतले गत आर्थिक वर्षमा लिएको लक्ष्यभन्दा धेरै मुद्दा फस्र्योट गरेको छ । जिल्ला अदालतले पत्रकार सम्मेलन गरी एक वर्षमा भएको मुद्दा फस्र्योट विवरण सार्वजनिक गरेको हो । गत आवमा तीन हजार ७८७ मुद्दा फस्र्योट गर्ने लक्ष्य लिएकोमा चार हजार ३०४ वटा मुद्दा फस्र्योट गरेको छ ।

जिल्ला अदालतका श्रेस्तेदार विष्णु आचार्यले मुद्दा फस्र्योटलाई तीव्रता दिएका कारण अहिले दुई वर्ष नाघेका एउटा मुद्दा पनि नभएको बताउनुभयो । आव २०७९/८० बाट एक हजार ९८७ मुद्दा र दुई वर्ष नाघेका छ थान सरेर गत आवमा आएको थियो । ती सबै मुद्दा गत आवमा फस्र्योट गरेपछि अब दुई वर्ष नाघेका मुद्दा नरहेको उहाँले बताउनुभयो ।

चितवन अदालतमा सबैभन्दा धेरै मुद्दा निर्मला शर्मा सुवेदीले फैसला गर्नुभएको छ । उहाँको एक आर्थिक वर्षमा ५४० मुद्दा फस्र्योट गर्ने लक्ष्य रहेकोमा ७५० फस्र्योट गर्नुभएको थियो । आठ जना न्यायाधीशको दरबन्दी रहेको जिल्ला अदालतमा भवन अभावका कारण सात जना मात्र न्यायाधीशको इजलास रहेको छ । स्थान अभाव र मुद्दाको चापका आधारमा कर्मचारी कमी भएकाले काम गर्न ज्यादै समस्या भएको न्यायाधीश दयाराम ढकालले बताउनुभयो ।

२ श्रावण २०८१, बुधबार ०६:५४ मा प्रकाशित
Nabintech