२३ भाद्र २०८१, आईतवार

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

फाेर्स दैनिक

‘भिजिट भिसा’मा कुवेत पु-याई बेचबिखन गरेको अभियोगमा मोरङ रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारीलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई ललितपुर महानगरपालिका–२४ बाट पक्राउ गरेको हो । अधिकारीले पीडितलाई दुबइमा मासिक रु ४० हजार तलब हुने काममा लगाइदिने प्रलोभन देखाइ रु दुई लाख नगद लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पीडितलाई दुबइमा रहेका अर्का अभियुक्तसँग मिलेमतोगरी अन्तर्वार्ता लिएको र भिजिट भिसामा विसं २०७९ जेठ १६ गते दुबई पु-याइ बन्धक बनाइएको थियो । बन्धक बनाएपछि घरेलु काममा लगाई चरम श्रम शोषण तथा यौनशोषणगरी गर्भपतन गराएको पाइएको छ । “युएइमाभन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाइ २०८० वैशाख २८ गते दुबईबाट कुवेत पु-याइ एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई चरम श्रमशोषणगरी यौनशोषण गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ”, प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा रु छ लाख ७५ हजार रकम बुझाउन भनेपछि आफन्तमार्फत उक्त रकम बुझाइ २०८० मङ्सिर ३ गते नेपाल फर्कन सफल भएका थिए ।” अधिकारी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

३ श्रावण २०८१, बिहीबार २१:३९ मा प्रकाशित
Nabintech