२३ भाद्र २०८१, आईतवार

नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता- नेपालले यूएईलाई हरायो

फाेर्स दैनिक

श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’ को उद्घाटन खेलमा नेपालले जित हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराएको हो ।

टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।

नेपाललाई महत्वपूर्ण जित दिलाउन बलिङतर्फ कप्तान इन्दू बर्मा र ब्याटिङतर्फ सम्झना खड्काले महत्वपूर्ण योगदान गरे । इन्दूले तीन विकेट लिइन् भने सम्झनाले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा २४ वर्षीया सम्झनाले अविजित ७२ रन बनाइन् ।

ओपनरको भूमिकामा क्रिज समाल्न ओर्लिएकी सम्झनाले केवल ४५ बलको सामना गरी ११ वटा चौका प्रहार गरिन् । त्यसअघि उनले केवल ३५ बलमा अर्धशतक पुरा गरेकी थिइन् । अर्धशतक पुरा गर्ने क्रममा उनले आठ चौका पनि प्रहार गरेकी थिइन् ।

सम्झनाका लागि यो १७ औँ टी–२० अन्तर्राष्ट्रिय खेल हो । अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि उनको उच्च स्कोर अविजित ३६ रन थियो । यूएईविरुद्धको खेलमा सम्झनाको स्ट्राइक रेट १६० रह्यो । नेपालका लागि पूर्वकप्तान रुविना क्षेत्रीले पनि १० रनको योगदान गरिन् ।

पूजा महतो सात रनमा अविजित रहिन् । ओपनर सीता रानामगरले पनि सात रन बनाइन् । कप्तान इन्दू ६ रनमा पेभेलियन फर्किएकी थिइन् । नेपालले अतिरिक्त रुपमा १४ रन पाएको थियो । यूएईकी बलर कविसा एगोडेगले तीन र लावन्या केनीले एक विकेट लिए ।

त्यसअघि नेपाली टोलीका बलरहरुले पनि गतिलो प्रदर्शन गरेका थिए । कप्तान इन्दूले तीन विकेट लिएकी थिइन् । उनले चार ओभरमा १९ रन खर्चिइन् । सबनम राई, कृतिका मरासिनी र कविता जोशीले पनि एक–एक विकेट हात पारे ।

यूएईका लागि छैटौँ नम्बरकी ब्याट्र खुशी शर्माले सर्वाधिक ३६ रन बनाएकी थिइन् । पाँचौँ नम्बरकी ब्याट्र कविसा एगोडेगले पनि २२ रन बनाइन् । समाइरा धरनिधरकाले १३ र कप्तान एसा ओजाले १० रन जोडे । यूएईका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । रिथिका रजिथ ६ र लावन्या केनी दुई रनमा अविजित रहे । यूएईले अतिरिक्त रुपमा भने केवल दुई रन पाएको थियो ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर सीता रानामगरलाई गुमाएको थियो । उनी १७ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भएकी थिइन् । उनलाई यूएईकी बलर कविसा एगोडेगले वैष्णवी महेशद्वारा क्याच गराएकी थिइन् । ५.१ ओभरमा सीता आउट हुँदा नेपाली टोलीले ३९ रन बनाएको थियो ।

नेपालले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरकी ब्याट्र कविता कुँवरलाई गुमाएको थियो । उनी १० बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएकी थिइन् । उनको विकेट पनि यूएईकी बलर कविसा एगोडेगले लिएकी थिइन् । उनलाई कविसाले हिना होचान्दनीमार्फत क्याच गराएकी थिइन् । ७.३ ओभरमा कविता आउट हुँदा नेपालले ५१ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रुपमा कप्तान इन्दू बर्मालाई गुमाएको थियो । उनी १० बलमा ६ रन बनाउँदै आउट भएकी थिइन् । उनलाई यूएईकी बलर लावन्या केनीले कप्तान ओजाद्वारा क्याच गराएकी हुन् । ११.१ ओभरमा इन्दू आउट हुँदा नेपालले ७४ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रुपमा अनुभवी ब्याट्र रुविना क्षेत्रीलाई गुमाएको थियो । उनी आठ बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै आउट भएकी थिइन् । उनलाई यूएईकी बलर कविसा एगोडेगले बोल्ड गरेकी थिइन् । कविसाले लिएको यो तेस्रो विकेट थियो । १३.३ ओभरमा रुविना आउट हुँदा नेपालले ८९ रन बनाएको थियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले पहिलो विकेटका रुपमा कप्तान एसा ओजालाई गुमाएको थियो । उनी रनआउट भई पेभेलियन फर्किएकी थिइन् । सबनम राईले फालेको पाँचौँ बलमा ओजा रन लिन दौडिएकी थिइन् । तर, बल फिल्डरको हातमा पुगेपछि उनी पुनः फर्किएकी थिइन् ।

तर, त्यसअघि नै रुविना क्षेत्रीले विकेटकिपर काजोल श्रेष्ठलाई बल उपलब्ध गराइन् र काजोलले त्यो अवसलाई पूर्ण रुपमा सदुपयोग गरिन् । दोस्रो ओभरको पाँचौँ बलमा एसा आउट हुँदा यूएईले ११ रन बनाएको थियो ।

यूएईले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरकी ब्याटर रिनिथा रजिथलाई गुमाएको थियो । उनलाई नेपाली टोलीकी बलर सबनम राईले ६ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेकी थिइन् । ३.१ ओभरमा रिनिथालाई गुमाउँदा यूएईले २१ रन बनाएको थियो ।

यूएईले तेस्रो विकेटका रुपमा ओपनर थिरथा सतिषलाई गुमाएको थियो । थिरथालाई नेपाली टोलीकी कप्तान इन्दू बर्माले आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएकी थिइन् । आउट हुनुअघि उनले १२ बलमा एक चौकाको मद्दतले नौ रन बनाएकी थिइन् । ५.३ ओभरमा उनी आउट हुँदा यूएईले ३६ रन बनाएको थियो ।

यूएईले चौथो विकेटका रुपमा समाइरा धरनिधरकालाई गुमाएको थियो । समाइराको विकेट पनि कप्तान इन्दू बर्माले नै लिएकी थिइन् । उनले समाइरालाई कविता कुँवरद्वारा क्याच गराएकी थिइन् । पेभेलियन फर्किनुअघि समाइराले १२ बलमा दुई चौकाको मद्दतले १३ रन बनाएकी थिइन् । ७.२ ओभरमा समाइरा आउट हुँदा यूएईले ४६ रन बनाएको थियो ।

यूएईले पाँचौँ विकेटका रुपमा कविसा एगोडेगलाई गुमाएको थियो । कविसाको विकेट कृतिका मरासिनीले लिएकी थिइन् । कृतिकाले कविसालाई कविता जोशीद्वारा क्याच गराएकी थिइन् । पेभेलियन फर्किनुअघि कविसाले २२ रन बनाएकी थिइन् । उनले २६ बलको सामना गरी दुई चौका पनि प्रहार गरेकी थिइन् । १५औँ ओभरको पहिलो बलमा कविसा आउट हुँदा यूएईले ७८ रन बनाएको थियो ।

यूएईले छैटौँ विकेटका रुपमा हिना होचन्दानीलाई गुमाएको थियो । उनी नौ रनको ब्यक्तिगत स्कोरमा रनआउट भई पेभेलियन फर्किएकी थिइन् । १८.१ ओभरमा उनी आउट हुँदा यूएईले एक सय सात रन बनाएको थियो ।

यसैगरी यूएईले सातौँ विकेटका रुपमा खुशी शर्मालाई गुमाएको थियो । उनलाई कप्तान इन्दू बर्माले पेभेलियन फर्काएकी हुन् । उनलाई इन्दूले कृतिका मरासिनीद्वारा क्याच गराएकी थिइन् । इन्दूले लिएको यो तेस्रो विकेट थियो । आउट हुनुअघि उनले ३६ रन बनाएकी थिइन् । उनले ३९ बलको सामना गरी दुई चौका पनि प्रहार गरिन् । १८.३ ओभरमा खुशी आउट हुँदा यूएईले एक सय सात रन बनाएको थियो ।

यूएईले आठौँ विकेटका रुपमा वैष्णवी महेशलाई गुमाएको थियो । उनी खाता खोल्नुअघि नै पेभेलियन फर्किएकी हुन् । उनको विकेट कविता जोशीले लिएकी थिइन् । उनलाई विकेटकिपर काजोल श्रेष्ठले स्टम्पिङ गरेकी थिइन् । १९.३ ओभरमा उनी आउट हुँदा यूएईले एक सय १३ रन बनाएको थियो ।

नेपाल र यूएईबिच खेलिएको यो पाँचौँ अन्तर्राष्ट्रिय खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईलाई हराएको भने यो तेस्रो पटक हो । सन् २०१९ को जनवरी १४ तारिखमा थाइल्यान्डमा खेलिएको महिला टी–२० खेलमा नेपालले यूएईलाई ६ विकेटले हराएको थियो ।

सन् २०१९ कै फेब्रुअरी २२ तारिखमा बैंककमा खेलिएको महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा पनि नेपालले यूएईलाई सात विकेटले हराएको थियो । सन् २०२१ को नोभेम्बर २८ तारिखमा दुबईमा खेलिएको टी–२० विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगितामा भने यूएईले नेपाललाई ४८ रनले हराएको थियो । सन् २०२२ को जुन २४ मा मलेसियामा भएको नेपाल र यूएईबिचको खेल भने वर्षाका कारण अनिर्णित रुपमा सकिएको थियो ।

जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते)सम्म सञ्चालन हुने महिला एसिया कपको नवौँ संस्करणमा सहभागी टोलीलाई दुई समूहमा विभागजन गरिएको छ । नेपाल र यूएई प्रतियोगिताको समूह ‘ए’मा परेका छन् । दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तानसँगै पनि सोही समूहमा छन् ।

प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । प्रारम्भिक चरणको खेलपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको समेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल हुनेछ ।

४ श्रावण २०८१, शुक्रबार २१:३० मा प्रकाशित
Nabintech