२३ भाद्र २०८१, आईतवार

आफुबाट अनैतिक कार्य नभएको उपसभामुखको जिकिर

फाेर्स दैनिक

उपसभामुख इन्दिरा रानाले अमेरिकी राजदूतावासलाई अन्तर्वार्ताको लागि अगाडिको मिति राखिदिन अनुरोध गरेको स्वीकार गरेकी छन् । तर, उनले आफूबाट कुनै अनैतिक कार्य नभएको शुक्रबार विज्ञप्तिमार्फत स्पष्ट पारेकी छन् ।

‘गत वर्ष २०२३ को मार्च महिनामा UN Commission on Status of Women (UN CSW) सम्मेलनसँगै समानान्तर रूपमा आयोजना हुने NGOCSW 67 मा सहभागिताको लागि म लगायत अन्य सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरी अमेरिका जाने क्रममा यात्रा गर्नुपर्ने समयावधि अत्यन्त छोटो रहेको तर राजदूताबासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था रहेको अवस्थामा मैले मसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएको र उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिइदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूताबासलाई अन्तर्वार्ताको लागि मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ’, उनले विज्ञप्तिमा भनेकी छन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वःनिर्णय राजदूताबासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ। मैले कसैको भिसाको लागि अनुरोध पनि गरेको छैन ।’

उक्त सम्मेलनमा सहभागी भइसकेपछि पनि आफूले अन्य कार्यक्रमको सिलसिलामा अमेरिका लगायत अन्य मुलुकको यात्रा गरिरहेको उनको विज्ञप्तिमा उल्लेख छ ।

उपसभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र आएका निमन्त्रणामा सँगै जानुपर्ने भनी आएको अनुरोधलाई स्वीकार गरी लेखिएको पत्र पदीय मर्यादा अनुरुप भएन भनी आइरहेका प्रतिकिया तथा दृष्टिकोणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको रानाले बताएकी छन् ।

‘मलाई माया र सद्भाव राखी सचेत गराउन खोज्नु भएका सञ्चारकर्मी लगायत अन्य शुभेच्छुक, शुभचिन्तकजनप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । तर मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ बर्षपछि विवादित गराउन खोज्नु म बिरुद्ध नियोजित कदम रहेको देखिन्छ’, उनको विज्ञप्तिमा भनिएको छ ।

उनले अगाडि भनेकी छन्, मलाई नजिकबाट चिन्नेहरु मेरो स्वभावसँग जानकार नै हुनुहुन्छ । मेरा स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् तर अनैतिक कार्य मवाट भएको छैन, हुने छैन ।’

पार्टी र सचिवालयभन्दा बाहिरका मानिसलाई भिसाको लागि अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै उनले उपसभामुखको लेटरहेडमा अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि विवादमा तानिएकी छन् ।

४ श्रावण २०८१, शुक्रबार २१:३५ मा प्रकाशित
Nabintech