२३ भाद्र २०८१, आईतवार

सक्रियता बढाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई गृहमन्त्रीकाे निर्देशन

फाेर्स दैनिक

गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।शुक्रवार भर्चुअल माध्यमबाट प्रमुख जिल्ला अधिकारीका साथै जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई समेत सम्बोधन गर्दै गृहमन्त्रीले मनसुनजन्य विपद्बाट प्रभावित भएका नागरिकलाई राहत दिन तथा उद्धार गर्न राज्यका तर्फबाट कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद पनि विपद् व्यवस्थापनमा धेरै काम गर्नुपरेको उल्लेख गरे । विपद् व्यवस्थापनका साथै जिल्लाको शान्ति सुरक्षा, लागू औषध नियन्त्रण, आपराधिक गतिविधि नियन्त्रणलगायत विषयमा सक्रिय हुन मन्त्री लेखकले सो अवसरमा निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

भर्चुअल बैठकमा गृह सचिव एकनारायण अर्यालले विपद्को सुरुवाती दिनमै यसपटक देशभर धेरै जनधनको क्षति भएको बताए । गृहसचिव अर्यालले बाढी पहिरोबाट पीडित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि समन्वय गर्न प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन पनि दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलले विपद्का क्रममा विभिन्न प्रभावित जिल्लाका एक हजार चार सय परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिए । भर्चुअल बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समितिका पदाधिकारी सहभागी रहेका थिए ।

५ श्रावण २०८१, शनिबार ०६:०८ मा प्रकाशित
Nabintech