२३ भाद्र २०८१, आईतवार

तस्करी गरिएको ४ ट्रक खयर सुनसरीमा समातियो

फाेर्स दैनिक

रामेछाप हुँदै सुनसरी पुगेका चारवटा मालवाहक ट्रक नियन्त्रणपछि छानबिन गर्दा खयर तस्करीको खुलासा भएको छ।रामेछापबाट सिन्धुली हुँदै सुनसरी पुगेका ४ ट्रक अनुसन्धानको क्रममा खयर तस्करीको खुलासा भएको हो। प्रशासनको ठाडो आदेशमा नियन्त्रणमा लिइएका ती ट्रकबारे छानबिन थालिएपछि खयर तस्करी सार्वजनिक भएको हो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीकाअनुसार सम्बन्धित जिल्लाबाट ट्रकलाई छोडपुर्जी दिँदा उल्लेखित परिमाणमा नै कैफियत भेटिएको छ।धरानमा रहेको सूर्य कत्था उद्योगको नाममा खयर लोड गरी ल्याइएका ती ट्रक नियन्त्रणमा लिई वन कार्यालय सुनसरीलाई अनुसन्धानको जिम्मा दिइएको प्रजिअ तिवारीले बताए।

छानबिनका क्रममा अवैध खयर धेरै भेटिएको बताउँदै प्रजिअ तिवारीले टाँचा लगाएको भन्दा ठूलो संख्यामा काठका मुडा भेटिनुले संगठित मिलेमतोको सम्भावना देखिएको बताए।प्रजिअ तिवारीले भने, ‘काठमा लगाइएका टाँचा विधिपूर्वक थिएन। वन कार्यालय रामेछापले लगाएको टाँचा केवल नाम मात्रको थियो। ती ट्रक एक दिन सिन्धुलीमा समेत रोकिएका रहेछन्। त्यसपछि सुनसरीको लागि आएको देखिन्छ। सुनसरीमा आइपुगेका ट्रकको जाँचका क्रममा अवैध काठ रहेको पुष्टि भयो‚ जुन मिलेमतो बेगर सम्भव नै छैन।’

सुनसरी प्रशासनका अनुसार नियन्त्रणमा लिइएका ट्रकको हकमा वन कार्यालय रामेछापले १५ सय लकडीमा टाँचा लगाइएको भनि छोडपुर्जी दिएको थियो।अनुसन्धानका क्रममा गणना गर्दा भने २ हजार ७३३ वटा भेटिएको थियो। उक्त परिमाणका काठ बा.प्र.०१००६ख२१११, बा.प्र.०१००६ ख ३३४९, म.प्र.०३००२ख००९५ र क.प्र.०२००१ख०४१९ नम्बरका ट्रकमा रामेछापबाट लोड गरी सुनसरी ल्याइएको प्रशासनले जनाएको छ।

प्रशासनले उक्त खयर तस्करीमा सुरक्षा निकायदेखि वन कार्यालयसम्मकै संलग्नता रहेको आशंका गरेको छ। सुनसरी प्रशासनले नियन्त्रणमा रहेका ट्रक र चालकसहितको हकमा कानूनबमोजिमको कारबाही हुने जनाएको छ।

काठ तस्करीको विषय सुक्ष्म रुपले छानबिन हुनसके वन पैदावार चोरी निकासीमा संलग्नहरु कानूनी दायरामा आउने जनाइएको छ।स्रोतका अनुसार खयर बोकेका ट्रक इनरुवा आइपुगेपछि प्रशासनले रोक्न भनेको थियो।

५ श्रावण २०८१, शनिबार ०६:१५ मा प्रकाशित
Nabintech