२३ भाद्र २०८१, आईतवार

बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले बिश्वासको मत लिदै

फाेर्स दैनिक

सत्ता विमुख हुने निश्चित रहेका बखत बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज संसद् फेस गर्ने भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका हुन् ।

अंकगणितीय प्रतिकूलताका बिच संसद् फेस गर्ने निर्णयमा पुगेका मुख्यमन्त्री जम्कट्टेलले मत विभाजनसहित विश्वासको मतको प्रक्रिया टुङ्गाउने भएका हुन् । सोहीअनुसार शनिवार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आइतबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णायार्थ पेस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री जम्कट्टेलले प्रक्रियागत रूपमा संसदबाट विश्वासको मत लिने प्रस्ताव पेस गरेसँगै सो उपर छलफल हुने संसद्को कार्यसूची निर्धारण गरिएको नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने र त्यसउपर प्रदेशसभाका दलहरूले दलगत रूपमा छलफलमा भाग लिने उनले बताए । दलगत रूपमा संसदीय दलका नेताले धारणा राखेपछि मुख्यमन्त्रीले जवाफ पेस गर्ने र सो पश्चात् प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने उनको भनाई छ ।

मत विभाजनसहित मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको छिनोफानो गरिने उनले बताए ।

गत असार १७ मा केन्द्रीय तहमा एमाले कांग्रेस सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने सहमति बनेसँगै बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार सङ्कटमा परेको थियो । केन्द्रीय तहको समीकरण अनुसार प्रदेश सरकारबाट तत्कालीन साझेदार दल नेकपा एमालेले असार २४ मा सरकारको समर्थन फिर्ता लिएको थियो भने ५ मन्त्रीको सामूहिक राजीनामा समेत गराएको थियो ।

नयाँ समीकरणअनुसार सरकार निर्माणको तयारी थालेका कांग्रेस एमालेले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएका छन् । केन्द्रीय सहमतिअनुसार एमालेसँगका सहकार्यमा प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने गरी अघि बढेका दुवै दलले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्ने भएका हुन् ।

एमालेले आफ्ना सांसदहरूलाई आइतबारको प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुने र विपक्षमा मत हाल्न ह्विप जारी गरेको हो । प्रदेशसभामा एमालेका २७ सांसद रहेका छन् ।

त्यसअघि नै शुक्रबार नै बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विपक्षीमा मतदान गर्न निर्णय गरेको थियो । प्रदेशसभामा कांग्रेसको ३७ सांसद रहेका छन् ।

राप्रपा र नेमकिपाले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । राप्रपाको बिहीबार बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको थियो । प्रदेशसभा राप्रपाको १३ जना सदस्यहरू रहेका छन् ।

प्रदेशसभाको सशक्त प्रतिपक्षको रूपमा छवि बनाएको नेमकिपाले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । विगतदेखि नै प्रतिपक्षमा रहँदै आएको सो दलले यसपटक पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नलिने निर्णय गरेको हो ।

मुख्यमन्त्रीको पक्षमा २९ मत

मुख्यमन्त्री जम्कट्टेलको पक्षमा २९ मत प्राप्त हुने देखिन्छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र साझेदार दल एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टी समेतको गरी २९ मत प्राप्त हुने देखिन्छ ।

एकीकृत समाजवादीले मुख्यमन्त्री जम्कट्टेलको पक्षमा मतदान गर्ने निश्चित भएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालका अनुसार मुख्यमन्त्री जम्कट्टेलको पक्षमा मत दिने तयारी रहेको छ । प्रदेशसभामा सो दलको ७ सांसद रहेका छन् ।

यता हाम्रो नेपाली पार्टीको २ मध्ये एक सांसदले मुख्यमन्त्री जम्कट्टेलको पक्षमा मतदान गर्ने भएका छन् । सो दलको एक सांसद भने विश्वासको मतबारे निर्णय हुन सकेको छैन ।

सो दलका जम्कट्टेल नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनेका शैलेन्द्रमान बज्राचार्यले मुख्यमन्त्री जम्कट्टेलको पक्षमा मत दिने भएका छन् । मुख्यमन्त्री जम्कट्टेलको पार्टी माओवादी केन्द्रका २१ सांसद उनको प्रस्तावको पक्षमा छन् । ११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक रहन्छ ।

लुम्बिनीका मुख्यमन्त्री पनि अल्पमतमा

यता लुम्बिनी प्रदेशमा पनि चौथो अधिवेशनको २४ औँ बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावित कार्यसूची सार्वजनिक भएको हो । बैठक आज १ बजेलाई बोलाइएको छ।

लुम्बिनी प्रदेश सभाले २४ औँ बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले वक्तव्यसहित आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्ताव माथि छलफल भई उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री दिने सम्भावित कार्यसूची रहेको रहेको छ ।

प्रदेश सचिव दुर्लभकुमार पुनले मुख्यमन्त्रीले विश्वास मत लिने सम्भावित कार्यसूची प्रदेश सभामा सदस्यहरूलाई पठाएको रातोपाटीलाई बताए । उनले बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट मौजुदा मन्त्रिपरिषद्मा कार्यविभाजन गरी पुनर्गठन गरिएको पत्र सभामुखले पढेर सुनाउने कार्यसूची पनि रहेको खुलाए ।

केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।

माओवादी संसदीय दल नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

अहिले मुख्यमन्त्री महरासँग माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चा एक-एक गरी १२ जनाको मात्रै समर्थन रहेको देखिन्छ । बागमती र लुम्बिनी दुवै प्रदेशमा मुख्यमन्त्रीले बहुमत गुमाएकोले उनीहरू आजै सत्ता बहिर्गमन हुने निश्चित देखिएको छ ।

६ श्रावण २०८१, आईतवार ०७:२८ मा प्रकाशित
Nabintech