२३ भाद्र २०८१, आईतवार

संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गरिने छ : सभापति देउवा

फाेर्स दैनिक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गरिने बताएका छन्।गत असार १७ मा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्ने विषय पनि उल्लेख छ। त्यसतर्फ लक्षित गर्दै सभापति देउवाले अहिलेको व्यवस्था थप सुदृढ हुने गरी संविधान संशोधन गरिने बताए।

प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वास मतको प्रस्तावमाथि छलफलमा भाग लिएर बोलेका सभापति देउवाले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ अग्रसर गराउन आवश्यक छ। संविधान प्रारम्भ भएको ८ वर्ष पूरा भएको छ। यसको सबल पक्ष र दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वभाविक अभ्यास हो। संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गरिनेछ।’

संविधान संशोधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरूबीच संवाद, सहमतिबाट गर्नु उचित हुन्छ भन्नेमा आफूहरू प्रष्ट रहेको देउवाको भनाइ छ। सभापति देउवाले प्रधानमन्त्री ओलीलाई विश्वास मत दिने पार्टीको निर्णय भएको पनि बताएका छन्।

६ श्रावण २०८१, आईतवार १४:५७ मा प्रकाशित
Nabintech