११ पुष २०८१, बिहीबार

एआई शिक्षासम्बन्धी पाँचौं संस्करणकाे कार्यक्रम ललितपुरमा हुने

फाेर्स दैनिक

एआई शिक्षासम्बन्धी पाँचौं संस्करणकाे कार्यक्रम ललितपुरमा हुने भएको छ। नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (नामी)ले बुधवार ललितपुरमा पत्रकार सम्मेलनमार्फत यस वर्ष पौष १२ देखि २२ गतेसम्म हुने पाँचौ संस्करणकाे ११ दिने शैक्षिक कार्यक्रमकाे बारेमा जानकारी गराएकाे हाे । 

नामीका एजुकेशन आउटरीच प्रमुख अलोक खत्रीले यो प्रतिष्ठित कार्यक्रमको पाँचौं संस्करण आर्टिफिसियल एन्टिलिजेन्सको आधार र कार्यान्वयनहरूमा केन्द्रित रहने जानकारी गराउनुभएकाे हाे । याे कार्यक्रम संसारभरबाट वैज्ञानिक, प्राध्यापक, र सहभागीहरूलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला, र परियोजना कार्यका लागि एकै ठाउँमा ल्याउने ब्ल्ब्क्ष्क् दक्षिण एशियाकै सबैभन्दा ठूलो र सबैभन्दा पृथक मञ्च भएको उहाँले प्रष्ट पार्नुभयाे । 

“याे कार्यक्रमले आधारभूतदेखि आधुनिक विचार र विधिहरूसम्मका विषयवस्तु तथा अनुप्रयोगहरूलाई समेट्नेछ, यस कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर, र पीएचडी तहका २०० विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने प्रोफेस्नलहरू सहभागी हुन सक्नेछन् ” उहाँले भन्नुभयो ।

ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कूलमा हुने कार्यक्रममा विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले तीन मुख्य क्षेत्रहरू आधारभूतदेखि आधुनिक विचार र विधिहरूसम्मका विषयवस्तु तथा अनुप्रयोगहरूलाई समेटेर अवधारणाहरु प्रस्तुत गर्ने उहाँले जानकारी गराउनुभयाे। 

“सानो ठाउँबाट ठूला परिबर्तन आउनसक्छ,” भन्ने मान्यतामा आधारित यस वर्षको एआई स्कूलले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी तथा एआई अभ्यासकर्ताहरूलाई विश्वस्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्य राखेको जानकारी गराइएको छ । 

नामीका संस्थापक निर्देशक एवम् अनुसन्धानकर्ता बैज्ञानिक विशेष खनालले नामीले करिव सात/आठ वर्षदेखि अनुसन्धान र विकासमा समर्पित भएर काम गरिरहेको बताउनुभयो ।

“प्रविधिलाई समाजसंग जाेडेर फाइदा पुर्‍याउने गरि काम गर्नु आवश्यक छ, जसले मानव जनजीवन र अर्थतन्त्रलाई महत्त्वपूर्ण याेगदान पुर्‍याउनु पर्छ,नेपाललाई चाहिने प्रविधिकाे विकास गर्न सक्ने र विदेश निर्यात गर्न सकिने अवस्थाका बारेमा सरकारले साेच्नु पर्ने आवश्यकता छ।” उहाँले भन्नुभयो ।

गुणस्तरीय जीवन र मानिसकाे आवश्यकतालाई परिपूर्ति गर्न सक्ने प्रविधि र ज्ञान दिन सक्ने एआई प्रविधिकाे विकास गर्नुपर्छ भन्नेमा उहाँकाे जाेड रहेको थियोे ।

“सरकारले मात्रै गरेर पनि हुँदैन, निजी क्षेत्रले पनि विकास गर्नुपर्छ, विदेशी लगानी र सहयाेगमा मात्रै भर पर्नु हुँदैन, नेपालमा केही गर्न सकिँदैन र हुँदैन भन्ने मानसिकता त्याग्नु पर्छ ।” बैज्ञानिक खनालले भन्नुभयो ।

खनालका अनुसार यो कार्यक्रम दक्षिण एशियामा उत्कृष्ट अन्तराष्ट्रिय विशेषज्ञहरूबाट सिक्ने र अन्तरक्रिया गर्ने सुनौलो अवसर हो । 

“नेपालमा एआईको उपयोग गर्ने सरकारको योजना र एआई नीतिको तयारी भइरहेको अवस्थामा, यो कार्यक्रमले आवश्यक छलफल सिर्जना गर्न र नेपालमा एआई विशेषज्ञता निर्माण गर्न मद्दत पुर्‍याउनेछ ।” उहाँले भन्नुभयो ।

“याे कार्यक्रमले केवल शिक्षामात्र प्रदान गर्दैन, ११ दिनसम्म विश्वस्तरीय विशेषज्ञहरूसँग सिक्ने, व्यावहारिक कार्यशालामा भाग लिने, र आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर पनि यहाँ प्राप्त हुन्छ।” खनाल भन्नुहुन्छ। 

याे कार्यक्रमलाई सफल बनाउन एफवन सफ्ट, इसेवा, फोनेपे, यूके इन्टरनेशनल डेभलपमेन्ट, एशिया फाउन्डेसन, डाटा फर डेभलपमेन्ट इन नेपाललगायतका साझेदारहरूको साझेदारी प्राप्त भएको आउटरिच प्रमुख खत्रीले जानकारी गराउनुभयाे। यसका साथै, यंग इनोभेसन्स, सेक्युरिटीपल, गुगल, र फ्युजमेसिन्स पनि याे कार्यक्रममा मुख्य समर्थनकर्ता रहेकाे जानकारी गराइएको छ ।

बिगतमा भएका चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएकाे पत्रकार सम्मेलनमा जानकारी गराइएको थियोे ।

११ पुष २०८१, बिहीबार १०:१७ मा प्रकाशित
Nabintech