२३ माघ २०८१, बुधबार

लोकप्रिय पार्टीले पाँच वर्ष प्रधानमन्त्री बन्ने व्यवस्था गर्न महामन्त्री शर्माको प्रस्ताव

फाेर्स दैनिक

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्नुपर्ने बताएका छन्। उनले संविधान संशोधन गरेरै भए पनि यस्तो व्यवस्था गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस झापा क्षेत्र नं १ ले आज मेचीनगरमा आयोजना गरेको क्षेत्रीय भेलामा उनले कुनै पनि प्रधानमन्त्री लगातार पाँच वर्ष नटिक्ने अवस्था अन्त्यको विषय प्राथमिकतामा राखेर संवाद अगाडि बढाउनुपर्नेमा जोड दिए।

‘राणा शासनपछि कुनै पनि प्रधानमन्त्री पाँच वर्षसम्म टिकेनन्, यो समस्या समाधानका लागि लोकप्रिय मत ल्याउने दलको नेतालाई काम गर्न दिने गरी व्यवस्था गर्न सकिन्छ। कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने व्यवस्था तत्काल नेपालमा आवश्यक छैन। संविधान संशोधन गर्दा पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्थाका लागि प्रस्ताव गर्दैन’, महामन्त्री शर्माले भने।

त्यसको विकल्पमा लोकप्रिय र प्रत्यक्षतर्फ पहिलो हुने दलले छानेको नेतालाई पाँच वर्ष कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थाको सुनिश्चितता हुने गरी संविधान संशोधन उपयुक्त हुने उनको आग्रह थियो।

‘लोकिप्रय मतमा पहिलो हुने दल सत्तामा र दोस्रो हुने दल प्रमुख प्रतिपक्षमा हुने भनेर संविधानमै उल्लेख हुनुपर्छ। सत्तामा पुग्ने नेता वा प्रधानमन्त्रीले दुई वर्षमा विश्वासको मत लिने व्यवस्था पनि गर्न सकिन्छ’, महामन्त्री शर्माले भने।

यसैगरी उनले कांग्रेस र नेकपा (एमाले) संविधान संशोधन गर्न सहमत भएरै सत्ता समीकरण बनेको उल्लेख गर्दै दुवै दलले एउटै व्यक्ति कतिपटक राष्ट्रपति र प्रधानमन्त्री बन्ने भन्ने विषयमा पनि संविधानमै व्यवस्था गर्न छलफल प्रारम्भ गर्नुपर्ने बताए।

२१ पुष २०८१, आईतवार २०:५२ मा प्रकाशित
Nabintech