नेशनल प्याब्सन (एन प्याब्सन)को आठौँ राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाडौँमा हुने भएको छ। एन प्याब्सनको पोखरामा सम्पन्न राष्ट्रिय प्रतिनिधि परिषद् बैठकले फागुन १६ र १७ गते आठौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो।
परिषद् बैठकले विधानका केही बुँदामा परिमार्जन गर्न केन्द्रीय समितिलाई अख्तियारी दिने, नेशनल प्याब्सनको विधान परिच्छेद विविध ९.१ (ग) अनुसार राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए।
समितिको संयोजकमा सुवास न्यौपाने र पाण्डव हमाल ठकुरी तथा सदस्यहरूमा याम खड्का, जयबहादुर श्रेष्ठ, राजु गुरुङ र वेदप्रसाद पन्त रहेका छन्।
बैठकले महाधिवेशन सुव्यवस्थित गराउन उपसमितिहरू गठन गर्ने, सदस्यता नवीकरण प्रमाणीकरण माघ महिनाभित्र गरिसक्ने र विधान परिमार्जन गर्नुपरे विधान परिमार्जन समिति बनाई महाधिवेशनबाट अनुमोदन गराउने निर्णय गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए।
पोखरामा भएको राष्ट्रिय परिषद् बैठकमा देशभरबाट १८४ जना पदाधिकारी सहभागी रहेको एन प्याब्सनका उपमहासचिव प्रकाशचन्द्र खड्काले जानकारी दिए।