नेपालको वैदेशिक व्यापार (आयात-निर्यात) दुवैमा सुधार आएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा आयात र निर्यात दुवैमा वृद्धि भएको हो। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात सात प्रतिशत र निर्यात ३१.७८ प्रतिशतले वृद्धि भएको छ।
साउनदेखि पुससम्म आयात ७ प्रतिशतले बढेर ८ खर्ब २२ अर्ब ३७ करोड ५४ लाख रुपियाँ पुगेको छ। गत वर्षको सोही अवधिमा ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रुपियाँको आयात भएको थियो। बजारमा मागको वृद्धि र आर्थिक गतिविधिको गति बढेसँगै आयातमा वृद्धि भएको देखिन्छ।
त्यस्तै, छ महिनामा निर्यात ३१.७८ प्रतिशतले बढेर ९८ अर्ब ७८ करोड ९२ लाख ४७ हजार रुपियाँ पुगेको छ। गत वर्षको सोही अवधिमा ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रुपियाँको निर्यात भएको थियो। भटमास र सनफ्लावर तेलको निर्यातमा वृद्धि हुँदा कुल निर्यातमा वृद्धि आएको हो।
आयात ठूलो परिमाणमा भए पनि निर्यात कम हुँदा व्यापार घाटा ४.३८ प्रतिशतले बढेर ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख ९९ हजार रुपियाँ पुगेको छ।
नेपालको कुल वैदेशिक व्यापार ९.२५ प्रतिशतले बढेर ९ खर्ब २१ अर्ब १५ करोड ९७ लाख ९४ हजार रुपियाँ पुगेको छ। सबैभन्दा बढी व्यापार भारतसँग भइरहेको छ। छ महिनामा वस्तु तथा सेवाको आयातबाट २ खर्ब २४ अर्ब ३४ करोड रुपियाँ राजस्व संकलन भएको छ।
भारतबाट ५ खर्ब २८ अर्ब ५१ करोड ६० लाख रुपियाँको आयात हुँदा नेपालबाट ७३ अर्ब ७१ करोड १२ लाख ३९ हजार रुपियाँको निर्यात भएको छ। यससँगै भारतसँग व्यापार घाटा ४ खर्ब २९ अर्ब १४ करोड ३६ लाख रुपियाँ पुगेको छ।
चीनसँगको व्यापारमा पनि घाटा रहेको छ। चीनबाट १ खर्ब ६० अर्ब ५४ करोड ३१ लाख ५५ हजार रुपियाँको आयात भएको छ भने १ अर्ब ९२ करोड २२ लाख ६७ हजार रुपियाँको निर्यात भएको छ। चीनसँगको व्यापार घाटा १ खर्ब ५८ अर्ब ६२ करोड ८८ लाख रुपियाँ छ।
त्यसैगरी, नेपालले ५४ अर्ब ३६ करोड रुपियाँको डिजेल, ३२ अर्ब १४ करोड रुपियाँको पेट्रोल, २९ अर्ब ७९ करोड ७० लाख ६३ हजार रुपियाँ बराबरको ग्यास आयात गरेको छ। २७ अर्ब ४८ करोड ४३ लाख २८ हजार रुपियाँको खाद्यान्न र २० अर्ब १७ करोड रुपियाँ बराबरको भटमासको कच्चापदार्थ पनि आयात भएको छ।
नेपालले १८ अर्ब ९१ करोड ३७ लाख रुपियाँ बराबरको भटमास तेल, ४ अर्ब ९८ करोड रुपियाँको सनफ्लावर तेल, ५ अर्ब ६१ करोड रुपियाँको कार्पेट, ४ अर्ब ५६ करोड ६५ लाख २७ हजार रुपियाँ बराबरको अलैँची र २ अर्ब ९६ करोड रुपियाँको चिया निर्यात गरेको छ।