ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न दातृ निकायलाई आग्रह गर्नुभएको छ। मन्त्री खड्काले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई ध्यानमा राख्दै दातृ निकायका प्रमुख र प्रतिनिधिसँग छलफल गर्नुभएको हो।
ऊर्जा विकास मार्गचित्र–२०८१ स्वीकृत
गत पुस १६ गते मन्त्रिपरिषद्ले स्वीकृत गरेको ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ लाई कार्यान्वयन गर्न दातृ निकायको निरन्तर सहयोग आवश्यक रहेको मन्त्री खड्काले बताउनुभयो। उहाँका अनुसार यो मार्गचित्रले ऊर्जा सुरक्षा, दिगोपन, र समावेशी आर्थिक वृद्धिको रोडम्याप प्रदान गर्दै नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्रको रूपमा विकास गर्ने उद्देश्य राखेको छ।
जलविद्युत् क्षेत्रमा लगानीका अवसर
नेपालको जलस्रोतको विशाल सम्भावनालाई उजागर गर्दै मन्त्री खड्काले दातृ निकायहरूलाई अन्तरदेशीय प्रसारण लाइनको विकास र जलविद्युत् आयोजनाहरूमा लगानी गर्न आह्वान गर्नुभयो। उहाँले माथिल्लो अरुण जलाशययुक्त आयोजना (विश्व बैंक सहयोग) र दूधकोशी जलाशययुक्त आयोजना (एसियाली विकास बैंक सहयोग) समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।
विकास साझेदारको भूमिकामा जोड
जल तथा ऊर्जा आयोगका सचिव मधुप्रसाद भेटुवालले ऊर्जा विकासको मार्गचित्र सफल बनाउन दातृ निकायको ठूलो सहयोग आवश्यक रहेको बताउनुभयो। ऊर्जा उत्पादन, प्रसारण, र वितरणमा रहेका चुनौतीहरू समाधान गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
ऊर्जामन्त्री खड्काले नेपालको आर्थिक समृद्धिका लागि ऊर्जा क्षेत्रलाई प्राथमिकता दिनुपर्ने भन्दै विकास साझेदार, अन्तर्राष्ट्रिय कूटनीतिक नियोग, र अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग गर्नुभएको छ। ऊर्जा विकास मार्गचित्र–२०८१ ले नेपाललाई दीर्घकालीन ऊर्जा समृद्धि र आर्थिक विकासको मार्गमा डो¥याउने अपेक्षा गरिएको छ।