१६ माघ २०८१, बुधबार

साँझ ६ देखि बिहान ५ बजेसम्म टाहाखेल–टिकाभैरव सडक पूर्ण रुपमा बन्द

फाेर्स दैनिक

गोदावरी नगरपालिका–१० स्थित टाहाखेल–टिकाभैरव सडक माघ ११ (आज) र १२ (भोलि) गते राति पूर्ण रूपमा बन्द गरिने भएको छ। असोज ११ र १२ मा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सडक साँघुरो बनाएको थियो। पहिरोले थुपारेको माटो पन्छाएर सडक आवागमनलाई व्यवस्थित गर्न रातको समय काम गरिने नगरपालिकाले जानकारी दिएको छ।

नगरपालिकाले जारी गरेको सूचनामा साँझ ६ बजेबाट बिहान ५ बजेसम्म सडकमा सवारी साधनको आवतजावत रोक लगाइने बताइएको छ। यस अवधिमा यात्रु र सवारी साधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

गोदावरी नगरपालिकाका अनुसार पहिरोले थुपारिएको माटोका कारण सडकको चौडाइ कम भई आवागमनमा कठिनाइ भएको छ। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै र सडकलाई थप व्यवस्थित बनाउन रातको समयमा माटो पन्छाउने कार्य गर्ने निर्णय गरिएको हो।

सडक मर्मतपछि आवागमन सहज बनाउने लक्ष्य रहेको र काम समयमै सकिने विश्वास रहेको नगरपालिकाले जनाएको छ। नगरवासी र सवारी चालकलाई वैकल्पिक बाटोको प्रयोगमा सहयोग गरिदिन पनि अनुरोध गरिएको छ।

११ माघ २०८१, शुक्रबार ०७:०३ मा प्रकाशित
Nabintech