१६ माघ २०८१, बुधबार

बागमती प्रदेशमा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियानको सुरुआत

फाेर्स दैनिक

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले शुक्रबार बागमती–४, प्युटारमा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान शुभारम्भ गर्नुभएको छ। यो अभियानको मुख्य उद्देश्य प्रदेशका सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनु हो।

दुर्गम क्षेत्रलाई प्राथमिकता
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको आयोजना र बागमती गाउँपालिकासहित विभिन्न अस्पतालको सहकार्यमा आयोजित कार्यक्रममा मन्त्री थापामगरले स्वास्थ्य र शिक्षाका लागि बसाइँसराइको आवश्यकता अन्त्य गर्न प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो। उहाँका अनुसार, “६१ लाखभन्दा बढी जनसङ्ख्या रहेको यस प्रदेशमा दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन बृहत स्वास्थ्य शिविर र पोषण प्रवर्द्धनजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्। यसले रोगको पहिचान र निवारणलाई सहज बनाउँछ।”

सचेतना र रोकथाममा जोड
कार्यक्रममा प्रदेश मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख सागरप्रसाद घिमिरेले नसर्ने रोगहरूको रोकथाममा सचेतना अभियानको आवश्यकता औंल्याउनुभयो। उहाँले सरकार धुम्रपान-मध्यपान विरोधी कार्यक्रम, स्वास्थ्य बिमा, पाठेघरको मुखको क्यान्सर, र प्रजनन स्वास्थ्य समस्याको पहिचान तथा निदानका लागि स्थानीय तहसँग सहकार्य गरिरहेको जानकारी दिनुभयो।

“रोग लागेको बेलामा मात्र उपचार गर्ने भन्दा रोग नै लाग्न नदिनका लागि सचेतना अभियान चलाउनु महत्त्वपूर्ण छ। संघीयता कार्यान्वयनसँगै हामीले स्थानीय तहसँग मिलेर स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेका छौं,” उहाँले भन्नुभयो।

स्थानीय तह र स्वास्थ्य पूर्वाधार
बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले संघीयताको आगमनपछि स्थानीय तहमा सडक सञ्जाल, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारको विकास भएको उल्लेख गर्नुभयो। तर, दुर्गम क्षेत्रमा आयस्रोतको कमी भएकाले प्रदेश र संघीय सरकारको बजेटबाट अस्पताल सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

विशेषज्ञ टोलीको सक्रियता
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलका अनुसार, यो शिविरमा १३ सरकारी र गैरसरकारी संस्थाका ४० जना जनशक्ति परिचालित भएका छन्, जसमा १७/१८ जना विशेषज्ञ चिकित्सकहरू सहभागी थिए। उहाँले, “स्वास्थ्य सूचक सुधारका लागि यो अभियान महत्त्वपूर्ण छ। यसले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन मात्र होइन, रोग निवारणमा पनि योगदान पुर्‍याउँछ,” भन्नुभयो।

आगामी योजना
डा. पौडेलले स्वास्थ्य शिविरलाई थप विस्तार गर्दै अन्य दुर्गम स्थानमा पनि सेवा पुर्‍याउने योजना रहेको जानकारी दिनुभयो।यो अभियानले बागमती प्रदेशका जनतालाई स्वास्थ्य सेवा र सचेतनामा एक कदम अगाडि लैजाने विश्वास गरिएको छ।

१२ माघ २०८१, शनिबार ०७:१७ मा प्रकाशित
Nabintech