ललितपुरको बागमती गाउँपालिकाले सातवटै वडाका लामा गुरुहरूलाई पूजा-पाठका लागि आवश्यक धार्मिक सामग्री हस्तान्तरण गरेको छ। चैत्र ४ गते, सोमबार, गाउँपालिकाको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा यी सामग्री लामा गुरुहरू तथा वडा प्रतिनिधिहरूलाई प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले नेपाल धर्मनिरपेक्ष राष्ट्र भए तापनि सबै धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै आवश्यक सहयोग गर्ने नीति पालिकाले अपनाएको बताउनुभयो। उहाँले भन्नुभयो, “धर्मनिरपेक्ष राष्ट्रका रूपमा भए पनि हाम्रा परम्परागत तथा सांस्कृतिक चाडपर्वको संरक्षण गर्न र धार्मिक आस्थालाई सम्मान गर्न पालिकाले निरन्तर प्रयास गरिरहेको छ। आगामी दिनहरूमा पनि आवश्यक सहयोग तथा सहकार्य गर्दै जानेछौं।”
त्यसैगरी, गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर दर्लामी मगरले विविध जाति, भाषा, र धर्मलाई सम्मान गर्दै पालिकाले सहकार्य गरिरहेको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा थप कार्यक्रमहरू ल्याइने बताउँदै, “समुदायका आवश्यकताअनुसार हामी सहयोग पुर्याउन प्रतिबद्ध छौँ,” भन्नुभयो।
वडा नं. ४ का अध्यक्ष रामकुमार लामाले तामाङ समुदायको परम्परागत धार्मिक अभ्यासका लागि प्रदान गरिएका सामग्री अत्यन्त उपयोगी हुने बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो समुदायमा जन्मदेखि मृत्यु संस्कारसम्म यी सामग्रीहरू अनिवार्य रूपमा प्रयोग गरिन्छ। गाउँपालिकाको यो सहयोगले परम्परा निरन्तरता दिन ठूलो राहत मिल्नेछ।”
उक्त कार्यक्रममा वडा अध्यक्षहरू ज्ञ्यान बहादुर लो, नवराज खड्का, रामकुमार लामा, लामा गुरुहरू, स्थानीय बुद्धिजीवी तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले गाउँपालिकाले गरेको सहयोगको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।
स्थानीयवासीहरूले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्दै समुदायलाई सहयोग पुर्याउने उद्देश्यले गरिएको यो कार्यक्रमलाई सकारात्मक रूपमा लिएका छन्। साथै, गाउँपालिकाले आगामी दिनमा अन्य समुदायका आवश्यकताअनुसार पनि सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ।