३ आश्विन २०८१, बिहीबार

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि गठबन्धन गर्ने सहमति

फाेर्स दैनिक

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि गठबन्धन गर्ने सहमति भएको छ ।

एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सत्ता गठबन्धनका लागि सोमबार राति सहमति भएको छ । ओली-देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने पनि सहमति जुटेको छ ।

दुई दलबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने गरी सहमति जुटेको हो ।

दुई दलबीच भएको सहमतिमा ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने सहमति जुटेको छ ।

यस्तै एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने ओली-देउवाबीच सहमति बनेको छ ।

यस्तै दुई दलबीच निर्वाचन प्रणालीलगायतमा संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने सहमति पनि भएको छ ।

कांग्रेस र एमालेका नेताहरूबीच सोमबार राति भएको छलफलपछि एउटा सहमतिको खाका तयार भएको र त्यसलाई अन्तिम रुप दिने तयारीका लागि नेताहरु आपसी छलफलमा जुटेको स्रोतको दाबी छ ।

१९ असार २०८१, मंगलवार ०५:२८ मा प्रकाशित
Nabintech