३ आश्विन २०८१, बिहीबार

प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्छ : एमाले

फाेर्स दैनिक

नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तत्काल राजीनामा दिन आग्रह गरेको छ । आइतवार सङ्घीय संसद् भवनमा बसेको पार्टी संसदीय दलको बैठकले सो आग्रह गरेको हो । सरकार अल्पमतमा परेकाले अविलम्ब राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डसँग एमालेले आग्रह गरेको हो । यता प्रधानमन्त्री ‘प्रचण्ड’ ले आगामी असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । काँग्रेससँगको सहमतिअनुसार नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेको एमालेले प्रधानमन्त्री प्रचण्डलाई तत्काल मार्गप्रशस्त गर्न भनेको छ ।

प्रधानमन्त्रीले राजीनामा नदिई विश्वासको मत लिए एमालेले त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । बैठकले नयाँ सरकार गठनका लागि काँग्रेससँग गरिएको समझदारीको स्वागत गर्दै मुलुकलाई राजनीतिक स्थिरता दिने, सुशासन, समृद्धि र विकासको कामलाई तीव्रता दिने काममा सहयोग गरेको निस्कर्ष निकाल्दै नेपाली काँग्रेसलाई पनि धन्यवाद दिएको छ ।

प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘काँग्रेससँगको समझदारीलाई संसदीय दलले स्वागत गरेको छ । यस महत्वपूर्ण प्रक्रियामा सहभागी भएर अर्थात् मुलुकलाई स्थायित्व, स्थिरता दिनेतर्फ, विकास, समृद्धि र सुशासनको बलियो स्थिर सरकार बनाउने प्रक्रियामा नेपाली काँग्रेसले जुन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसप्रति एमालेको यस संसदीय दलको बैठकले नेपाली काँग्रेसलाई धन्यवाद दिने निर्णय गरेका छौं ।’

‘हाम्रो पहिलो माग सम्माननीय प्रधानमन्त्रीज्यूलाई आजै अविलम्ब राजीनामा दिन सुझाव हो । तत्काल राजीनामा दिनुपर्छ’ बर्तौलाले भन्नुभयो, ‘प्रधानमन्त्रीले राजीनामा दिनुभएन भने २८ गते माग्नुभएको विश्वासको मतको विपक्षमा एमालेको तर्फबाट मतदान गर्ने निर्णय गरेका छौं ।’ नेकपा एमालेका सांसद आस्मा चौधरीका श्रीमान् लौटन चौधरीको निधनप्रति विभिन्न आशङ्का उठेकाले सत्यतथ्य पत्ता लगाउन सरकारसँग एमालेले माग गरेको उहाँले बताउनुभयो । उहाँप्रति पार्टीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । त्यसैगरी कामचलाउ अवस्थामा पुगेकाले सरकारलाई कुनै महत्वपूर्ण निर्णय नगर्न पनि एमालेले सचेत गराएको छ ।

२४ असार २०८१, आईतवार १४:०९ मा प्रकाशित
Nabintech