राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा बुधबार पनि जारी रहनेछ । जाहेरवालाका तर्फबाट कानून व्यवसायीको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस शुरु गर्ने तयारी रहेको अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए। लामिछानेका तर्फबाट बहस गर्न झण्डै १० जना कानून व्यवसायीले वकालतनामा टिपाएका छन्। तर सबैको प्रतिनिधित्व गर्दै केहीले मात्रै बहस गर्ने चन्दले जानकारी दिए।
यसअघि सोमबार जाहेरवालाका तर्फबाट दुई जनाले बहस गरे पनि बुधबार कतिले गर्ने भन्ने यकिन नभएको उनले बताए। लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन र संगठित अपराधसम्बन्धी मुद्दा परेपछि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ।
यता बुटवलको सुप्रिम सहकारी संस्थाको बचत अपचलनबारे लामिछानेमाथि भइरहेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। सम्भवत: बुधबार नै रूपन्देहीमा लामिछानेमाथि मुद्दा दायर हुनसक्ने रूपन्देहीकी सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले जानकारी दिइन्।