२४ माघ २०८१, बिहीबार

टुङ्गन खोलामाथिको पुल उद्घाटन: स्थानीय विकासमा महत्वपूर्ण योगदानको अपेक्षा

फाेर्स दैनिक

ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नं ५, चन्दनपुरस्थित टुङ्गन खोलामाथि बनेको बहुप्रतीक्षित पुलको उद्घाटन सम्पन्न भएको छ। नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी र ललितपुर क्षेत्र नम्बर १ का संघीय सांसद उदयशमशेर राणाले संयुक्त रूपमा उक्त पुल उद्घाटन गरेका हुन्।

स्थानीय विकासको नयाँ सम्भावना

उद्घाटन समारोहमा मन्त्री अधिकारीले मुलुकभरका कृषि सडकहरूलाई प्राथमिकतामा राखेर विकास कार्य अघि बढाइएको बताए। उनले चिया, कफी, जडीबुटी तथा पशुपन्छी पालनको प्रचुर सम्भावना भएको यस क्षेत्रलाई प्राथमिकतामा राखी बजेट निर्माणको प्रतिबद्धता जनाए।

संघीय सांसद उदय शम्शेर राणाले पुल निर्माणमा आएको चुनौती र प्रदेश सरकारको नेतृत्व परिवर्तनपछि मात्रै काम सम्पन्न भएको स्मरण गरे। “हामी सबै राजनीतिक दलका प्रतिनिधिहरू मिलेर यो पुल बनाउन लामो प्रयास गर्यौं। संघीय सरकारबाट काम सुरु गरे पनि प्रदेशमा तीन वर्षसम्म रोकियो। नयाँ नेतृत्व आएपछि बल्ल काम सम्पन्न भयो,” उनले भने।

संघीय सांसद राणाका अनुसार पुल निर्माण सम्पन्न भएको केही समय पछि आएको बाढीले ठूलो क्षति पुर्याउने खतरा रहेको भए पनि पुलले चन्दनपुर बजारलाई जोगाएको छ।

महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर केसीले गाउँपालिकामा धेरै खोलाहरू भए पनि पुलहरूको अभाव रहेको उल्लेख गरे। “दुर्लुङ खोला र टुङ्गन खोलाजस्ता ठूला खोलाहरूमा पुल नहुनु यहाँको मुख्य समस्या थियो। यो पुल निर्माणले यातायातलाई मात्र नभई जनजीवनलाई पनि सुरक्षित बनाएको छ,” उनले भने।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सह महामन्त्री ऋषि राम घिमिरेले यस क्षेत्रमा कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेको बताउँदै सरकारले कृषि दक्षिण ललितपुरमा कृषि क्षेत्रमा विशेष योजना लागू गर्नु पर्नेमा जोड दिनु दिए।

पुल निर्माण विवरण

पुल निर्माणको ठेक्का आत्रेय निर्माण सेवा प्रा.लि., सिन्धुलीले लिएको थियो। कुल ३ करोड ३२ लाख ३५ हजार रुपैयाँ लागतमा निर्माण कार्य २०७७ भदौ १७ मा सुरु भई २०८१ भदौ २५ मा सम्पन्न भएको हो।

स्थानीय बासिन्दाहरूले अब पुल निर्माणपछि कृषि उत्पादन तथा व्यापारमा सहजता आउने आशा व्यक्त गरेका छन्। ललितपुर–रौतहट वैकल्पिक राजमार्ग विस्तारमा पनि यो पुलले महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

 

२४ माघ २०८१, बिहीबार ०६:४८ मा प्रकाशित
Nabintech